काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषदलाई पूर्णता दिने अन्तिम कसरतमा जुटेका छन् । सत्तासाझेदार नेपाली कांग्रेस र सरकारलाई समर्थन गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शीर्ष नेतासंग प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषदलाई पूर्णता दिने बिषयमा छलफल गरेका छन् ।
आईतबार बिहान प्रधानमन्त्री प्रचण्डले रास्वपा अध्यक्ष रवि लामिछानेसंग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका छन् । चितवन २ बाट पुनः सांसदमा निर्वाचित भएपछि लामिछानेलाई बधाई दिदै सरकारमा सहभागि हुन प्रचण्डले प्रस्ताव गरेका छन् ।
प्रचण्डको प्रस्ताव स्वीकार गर्दै अध्यक्ष लामिछानेले यस अघि सरकारमा सहभागि हुँदा पाएकै मन्त्रालय पाउँनुपर्ने अडान राखेको बालुवाटार स्रोतले जनाएको छ ।
यस अघि गृह, स्वास्थ्य सहितका मन्त्रालय पाएको रास्वपाले पुनः सोही मन्त्रालय पाए सरकारमा सहभागि हुन सक्ने जनाएको छ । तर गृहमन्त्रालय माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष समेत रहेका नारायणकाजी श्रेष्ठले सम्हालिरहेको र सो मन्त्रालय आफ्नै पार्टीसंग प्रचण्डले राख्न खोजेकाले सहमती जुटन सकेन् ।
सोमबार रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दैछ । सोही बैठकमा सरकारमा सहभागि हुने÷नहुने निर्णयका साथै सरकारलाई दिएको समर्थन फिर्ता लिने की नलिने बारेमा निर्णय हुदैछ । रास्वपा महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले सरकारमा सहभागि हुने नहुने, समर्थन फिर्ता लिने की नलिने भन्ने बारेमा केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठकबाट निर्णय हुने बताए ।
‘सरकारमा सहभागि हुने की नहुने, सरकारलाई दिएको समर्थन फिर्ता लिने की नलिने भन्ने बारेमा अहिले नै केही बोलिहाल्ने अवस्था छैन्’ प्रवक्ता ढकालले भने, ‘हाम्रो पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सोमबार बस्दैछ सोही बैठकबाट के गर्ने भन्ने निर्णय अनुसार नै हुन्छ ।’
यसैगरी रास्वपा उपाध्यक्ष समेत रहेका संसदीय दलका नेता डोलप्रसाद अर्यालले शनिबार दलको नेताबाट राजिनामा दिएकाले सोमबारको बैठकबाट अध्यक्ष लामिछानेलाई दलको नेता चुन्दैछ ।
बालुवाटार स्रोतका अनुसार रास्वपाले गृह पाए सरकारमा सहभागि हुने नपाए नहुने अडानमा रहेको छ । गृह पाए रास्वपा अध्यक्ष लामिछाने सो मन्त्रालय लिएर सरकारमा सहभागि हुन सक्ने बारेमा प्रधानमन्त्री प्रचण्डसंग छलफल गरेका छन् । गृह मन्त्रालय पाउँनै पर्ने अडान राख्दै आएको रास्वपाले सो मन्त्रालय नपाए सरकारलाई दिएको समर्थन फिर्ता समेत लिन सक्ने चेतावनी प्रचण्डलाई दिएको छ । साथै रास्वपाले सरकारको न्यूनतम साझा कार्यक्रम पनि पुर्नलेखन गर्नुपर्ने अडान राख्दै आएको छ ।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले सरकारमा सहभागि हुन रास्वपालाई प्रधानमन्त्री प्रचण्डले आग्रह गरेको बताए । चितनव २ बाट रास्वपा अध्यक्ष लामिछाने सांसदमा निर्वाचित भएपछि बधाई दिदै सरकारमा सहभागि हुने बिषयका साथै समसामयिक राजनीतिकका बारेमा छलफल भएको गजुरेलले बताए ।
उता सत्तारुढ कांग्रेस सभापति शेरबहादुर देउवाले मन्त्रीको नाम टुंगो लगाउँने बारेमा पार्टीका शीर्ष नेताहरुसंग आईतबार छलफल गरेका छन् । कांग्रेसले आफ्नोतर्फबाट मन्त्री बन्नेको नाम नपठाउँदा प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषदलाई अझै पूर्णता दिन सकेका छैनन् । प्रधानमन्त्री प्रचण्डसंग अहिले चार मन्त्रालय र उपप्रधानमन्त्री पूर्णबहादुर खड्कासंग दुई मन्त्रालय छ ।
कांग्रेस सभापति देउवाले नेता शेखर कोइराला र महामन्त्री गगन थापा समूहको असन्तुष्टिका कारण मन्त्रीको नाम तय गर्न सकेका छैनन् । प्राथमिकतामा नपरेका मन्त्रालय आफ्नो समूहलाई दिन खोजेको भन्दै शेखर–गगन समूह असन्तुष्ट छ । देउवा भने पार्टीभित्र समझदारी बनाएर नाम टुंगो लगाउने कसरतमा छन् । कांग्रेसबाट मन्त्री बनेका पाँचै जना संस्थापन पक्षका छन् । गठबन्धनको सहमतिअनुसार कांग्रेसले अब चार मन्त्री र एक राज्यमन्त्री पठाउनुपर्नेछ ।
कांग्रेसले कानुन, न्याय तथा संसदीय मामिला, स्वास्थ्य तथा जनसंख्या, युवा तथा खेलकुद र खानेपानी मन्त्रालय सम्हाल्ने गरी मन्त्रीको नाम पठाउनुपर्नेछ । कांग्रेसले आठ मन्त्रालय पाउने सहमति भएकोमा जनमत पार्टी सरकारबाट अलग भएपछि खानेपानी मन्त्रालय पनि थपिएको हो । उद्योग मन्त्रालय नपाएपछि जनमत १७ चैतमा सरकारबाट बाहिरिएको थियो ।
प्रधानमन्त्रीमा प्रचण्डले ११ पुसमा शपथ लिएकै दिन जनमतले आफ्नो पार्टीबाट खानेपानी मन्त्रीमा अब्दुल खानलाई पठाएको थियो । जनमतले कृषि र उद्योगमध्ये एक मन्त्रालय पाउनुपर्ने अडान राख्दै आएको थियो । सरकारबाट बाहिरिए पनि उसले समर्थन भने फिर्ता लिएको छैन । देउवाले आन्तरिक शक्ति सन्तुलनको समस्या देखाएपछि गठबन्धन खानेपानी मन्त्रालय कांग्रेसलाई दिन सहमत भएका थिए ।
कांग्रेसबाट १७ चैतमा उपसभापति पूर्णबहादुर खड्का उपप्रधानसहित रक्षामन्त्री, नेता प्रकाशशरण महत अर्थमन्त्री, रमेश रिजाल उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री र सीता गुरुङ सहरी विकासमन्त्री नियुक्त भएका थिए । तत्कालका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय उपप्रधानमन्त्री खड्कामातहत राखिएको छ ।
कांग्रेसका अर्का नेता एनपी साउद ३ वैशाखमा परराष्ट्रमन्त्री भएका हुन् । पार्टीका प्रवक्तासमेत रहेका अर्थमन्त्री महतले एक÷दुई दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताए । उपनिर्वाचनका कारण ढिलाई भएको बताउँदै महतले अब छिटै नै सरकारले पूर्णता पाउँने बताए । पार्टी वा अन्य कुनै कारणले मन्त्रिपरिषद पूर्णता दिने बारेमा ढिलाई नभएको बताउँदै उनले प्रधानमन्त्री प्रचण्डले सबै पक्षसंग सल्लाह गरेर पूर्णता दिने गरी अन्तिम गृहकार्यमा रहेको बताए ।
